Wednesday, September 9, 2009

गजल - 1

गायक-संगीतकार : रमेश पोखरेल

गजल रचना : विभोर बराल, सप्रेम अर्चना

(http://meroradio.com/?p=371)

गुलजार गजलसन्ध्या

(नयाँ पत्रिका, २०६६ भाद्र १५ गते सोमबार, http://www.nayapatrika.com/newsportal/last_page/5484.html)
डान्स र दोहोरीमा मस्त राजधानीका साँझ पछिल्ला दिनमा गजलतिर पनि तानिँदै छन् । पछिल्लो समय बढ्दो गजल-लेखनसँगै गाउने, सुनाउने र सांगीतिक प्रस्तुतिमा झुम्ने क्रम पनि बढ्दो छ । छिटफुट गजलका एल्बम निस्कँदै छन् र तिनले बिस्तारै व्यावसायिक सफलताका सिँढी पनि उक्लँदै छन् । हिन्दी र उर्दू गजलका पारखीका दिल बिस्तारै नेपाली गजलले पनि जित्दै छन् । यही सिलसिलामा शनिबारको एक साँझ गजलले गुलजार बन्यो । कार्यक्रममा गजल पुस्तक र एल्बम विमोचन मात्र गरिएनन्, फर्माइस गरी-गरी गजल गाइए, सुनाइए ।
अवसर जुटाएको थियो उपलब्धि प्रकाशन सेवा प्रालि र तन्नेरी डटकम मासिकले । नवस्थापित उपलब्धि प्रकाशन सेवाको उद्घाटनका अवसरमा आयोजित 'गजल-सन्ध्या'मा रमेश पोख्रेल र सञ्जय तुम्रुकले गजल गाए । 'गजलगो'लाई जीवन राईले तबलामा, सन्जु शाहीले गीतारमा साथ दिए । तीन सयभन्दा बढी गजलप्रेमी लगातार तीन घन्टा झुमे नेपाली र हिन्दी गजलगायनको आनन्दमा ।
रसिक साहित्यकार डिपी भण्डारी, गीतकार रत्नशमशेर थापा र राजेन्द्र थापाले त फर्माइस गरी-गरी आधा दर्जन बढी हिन्दी तथा उर्दू गजलको पनि आस्वादन लिए ।
रमेश र सञ्जयले विभोर बराल, सप्रेम अर्चना, जनक पौड्याल र विपिन मिश्रजस्ता नवोदित गजलकारका सिर्जनामा स्वर दिँदै गजलकार ललिजन रावल, रवि प्राञ्जल, देवी नेपाल, शैलेन्द्र साकार, रमेश पौडेल, गण्डकीपुत्रलगायत स्रष्टाका धीत मारे ।
गैरीधारास्थित उपलब्धि प्रकाशन सेवाकै हलमा आयोजित कार्यक्रममा विभोर बरालको 'उड्दै गए सपनाहरू' गजल-संग्रह र सप्रेम अर्चनाको 'सपना कहाँ छुन सक्छु र' गजल-संग्रहको विमोचन गरियो । कार्यक्रममा विभोर र अर्चनाका प्रत्यक्ष गाइएका गजलहरूको डिभिडी 'हाम्रो सपना' को पनि घुम्टो खोलियो । जसमा मिलन सिंह, रमेश पोख्रेल, निर्मल 'म', मदन गोपाल, सञ्जय तुम्रुक र मनीषा पोख्रेलका स्वरबद्ध गजल समावेश छन् ।

गजलसन्ध्या र विमोचन

(नेपाल समाचारपत्र, २०६६ भाद्र १५ गते सोमबार)
लामो समयदेखि गजललेखनमा सक्रिय दम्पती विभोर बराल र सप्रेम अर्चनाका प्रत्यक्ष गाइएका गजलहरूको डीभीडी हाम्रो सपनाको शनिबार राजधानीमा विमोचन गरिएको छ। यही दम्पतीकै नवीनतम गजलसंग्रह क्रमशः उड्दै गए सपनाहरू र सपना कहाँ छुन सक्छु र- को पनि सोही अवसरमा विमोचन गरिएको थियो। डीपी भण्डारी, रत्नसम्सेर थापा, ललिजन रावल, राजेन्द्र थापा र देवी नेपालले यसको संयुक्त रूपमा विमोचन गरेका थिए।उपलब्धि प्रकाशन सेवा प्रालि र तन्नेरी डटकम मासिक पत्रिकाको आयोजनामा गजलसन्ध्या नाम दिइएको प्रत्यक्ष गजल गायन कार्यक्रमको समेत आयोजना गरिएको थियो, जसमा रमेश पोखरेल र सञ्जय तुम्रुकले विभोर बराल, सप्रेम अर्चना, जनक पौड्याल र विपिन मिश्रका नेपाली गजल गाएका थिए। तीन घन्टाको गजल गायनमा उनीहरूले विमोचित संग्रह र उपस्थित श्रोताका फर्माइसमा अन्य नेपाली र हिन्दी गजलसमेत गाएका थिए।

(http://74.125.153.132/search?q=cache:TxF7Vlobd8oJ:www.newsofnepal.com/new/detailnews.php%3Ftype%3Dsamachaar%26cat%3D11%26id%3D27738+%E0%A4%B8%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A5%87%E0%A4%AE+%E0%A4%85%E0%A4%B0%E0%A5%8D%E0%A4%9A%E0%A4%A8%E0%A4%BE&cd=6&hl=en&ct=clnk&gl=np)

सप्रेम अचर्नाको "सपनाहरू कहाँ छुन सक्छु र !"

(http://www.nepalaustralianews.com/articles.php?cid=3694)
हामीलाई थाहा छ, सपना देखिन्छ- निद्रामा । सपना राती निदाएको बेला सुषुप्त मस्तिष्कको कल्पनाको सहाराले देखिन्छ । कोही त ननिदाइकन पनि मीठो सपना देख्छन्- दिवास्वप्न । भनिन्छ, सपना कल्पनाको प्रतिविम्ब, प्रतिच्छायां र परिणाम हो । सपनालाई कोही कसैले छुन, चलाउन र इच्छाअनुरुप नियन्त्रणमा राख्न पनि सक्दैन । त्यसैले त सपना कहिलेकाहीँ बीभत्स भएर प्रस्तुत हुन आउँछ त, कहिले रहरलाग्दो भएर लोभ्याउँदै जान्छ । आखिर सपना त सपना नै त हो । कोही कसैले काबूमा राख्न र नियन्त्रण गर्न सक्ने भए हामीमध्ये प्रत्येक मीठो र रमाइलो सपनाकै खोजीमा व्यग्र हुन्थ्यौं अनि रमाइलो सपनामा आफूलाई हराउँथ्यौ होला । आखिर सपना हाम्रो नियन्त्रणमा कहिल्यै हुँदैन तब त सप्रेम अर्चना यहाँ भन्न वाध्य भएकी छिन्- सपना कहाँ छुन सक्छु र ! हो, अवश्य सपना उनले मात्र होइन कसैले छुनै सक्दैन ।
सप्रेम अर्चनाको पुस्तक "सपना कहाँ छुन सक्छु र !" प्रकाशित भएको छ । यस पुस्तकभित्र आकासै छुन्छु म, सरकार सधैं मुकदर्शक छ, मन फुल्छ सधैं प्रियको मनमा र जति जे भयो सहनै पर्यो समेत चारवटा विषयअर्न्तर्गत गीतगजल संग्रहित भएका छन् ।
आकासै छुन्छु म शीर्षक अन्तर्गत १२ गजल अटाएका छन्, जहाँ कवयित्रीका जीवन संर्घष र सुखदुःखका क्षण उत्साह उमंग अनि यथार्थतालाई आत्मसात गर्दै विजयको शिखर चुम्ने दृढलालसा प्रतिविम्वित छन् । संघर्ष लाई आत्मसात् गर्दै उनी भन्छिन्-
हिमाल चढ्नु मात्र नै रहेछ जिन्दगी यहाँ अगाडि बढ्नु मात्र नै रहेछ जिन्दगी यहाँ (पाँच)
विश्वास राखी हौसला देऊ संर्घष चुम्छु म,नझारीदेऊ आँगनमा तारा आकासै छुन्छु म (दुइ)
उनी जीवन एक सुख र दुःखको मिलन हो भन्ने कुरामा विश्वस्त हुँदै सुखमा मात्तिने र दुःखमा आत्तिनेलाई कहिल्यै निरास नबन्न सल्लाह दिन पनि भुल्दिनन् र पीडाको समाधानको सान्त्वना दिँदै भन्छिन्-
किन रोग यहाँ यति व्याप्त भयो ?बनमा बुटीका गहना पनि छन् । भन देश भयो कसरी गरिब जब यो कविका रचना पनि छन् । (एघार)
व्यर्थमा हिम्मत हार्दछौं रापले बल्छ र जिन्दगी (दस)
आजको दुनियाँमा योग्यता क्षमताभन्दा गुटबन्दी नातावाद कृपावादले प्रश्रय पाएकोमा त्यस्ता सामाजिक विकृति र विसंगतिको यथार्थतालाई चित्रण गर्दै व्यङ्ग गर्छिन्- हुँदैन चेष्टा कुनै उकालो चढेर अग्ला पहाड चुम्ने छ माथि कोही भने त झार्ने प्रहार खोज्छन् मान्छे (सात) गरे धर्म भन्दै पिरोल्दै समाज कुसंस्कारलाई युगौं थेग्छ मान्छे (छ)
सपना कहाँ जिउँदै रह्यो जब भीडमाझमा एक्लिएँ सुखदुःखको विपना थियो भनी सम्झिदै रुन सक्छु र ! (चार)
कवयित्री सप्रेम अर्चना अहिलेको मुलुकको विद्यमान यथास्थितिवादी विकृत राजनीतिका विरुद्ध जेहाद छेड्दै हुंकार दिन्छिन्, विद्रोहको आगो ओकल्छिन् –
अन्धकारमा दीप बाल्छु देश निम्ति यो ज्यान फाल्दछु देश लम्कियोस् अग्रप्रक्तिमा पहिला त्यहाँ मात्र चाल्दछु (तेह्र)
सजिरा"छ कतै दरवार अझै डुबिरा"छ कतै घरबार अझै (पन्ध्र)
छ त केवल कागजमा नियम गणतन्त्र भए पनि शासक छ किन छक्क परुँ दुनियाँसित म जति जे छ यहाँ सब नाटक छ (सोह्र)
त्यसैगरी आफ्ना युगल जोडी शृङ्गार रसमा रसपान गर्न डुबुल्की मार्दै सप्रेम अर्चना यसरी भावमा भुनभुनाई रहेको पाउँछौं-
गरी याद तिम्रै रमाएर बस्ने मलाई अनौठो बनायो गजलले (तेइस)
हेर हाम्रो मेल कस्तो जून तारा डाह गर्छन् फूल्न छाडी बोटबाटै लाज मान्दै फूल र्झछन् (तेत्तीस)
पुज्छु पाउ तिम्रो सप्रेम म स्वर्गबाट द्यौता धर्ती झरे पनि (चौतीस)
हिजो हामी रमाएको सम्झिएर र जाग्यो घामसँगै यो जिन्दगानी (पैत्तीस)
अन्त्यमा कवयित्री वियोगको पीडामा समाहित भएर पनि आफूलाई सम्हाल्दै भावडुंगाबाट सुरक्षित अवतरण हुने प्रयासमा कल्पन्छिन् - जति जे भयो सहनै पर्यो शीर्षक मार्फत
जिन्दगी बिहानै कालो छ रातझैं आज भोलि साह्रै छल्दैछ सास यो वेदना असाध्यै छाती दुःखाउँछ ।दुःखको चित्तामा जल्दैछ सास यो (सत्चालीस)भिज्दैछ यो परेली चस्किन्छु बारबार के हुन्छ कुन्नि मनमा झुस्किन्छु बारबार (उनन्चास)
कति निष्ठुरी नियति पनि जति जे भयो सहनै पर्यो (छपन्न)
यसरी विभिन्न रसभाव, विम्ब र प्रतीकमा सपनाहरू देख्दै आउनुभएकी कवयित्रीले आफूले कहिल्यै ती सपना छुन नसकेको र नियन्त्रणमा राख्न पनि असमर्थ भएको विवशता प्रकट गर्दै आफ्ना ५६ वटा गीति सन्देशलाई मालामा उनी पुस्तकमा नै संग्रह गरेको पाउँदा साहित्य अनुरागी आम पाठक खुशी हुनु स्वाभाविक छ ।
तन्नेरी डटकमको प्रकाशनलाई विप्लवी र सुवासको सहयोग प्राप्त भएको सन्देशसहित आवरण सज्जा ज्यादै सुन्दर लाग्छ । साथै, वरिष्ठ चित्रकार मनुजबाबु मिश्रका जीवन्त चित्रले गजल कविताका शीर्षकलाई बुझ्न सजिलो पारिदिएका छन् । सुप्रसिद्ध साहित्यकारहरू रोचक घिमिरे, ललिजन रावल, मञ्जुलगायतबाट भूमिकासहित शुभकामना सन्देश व्यक्त भएको उक्त पुस्तकमा सुरेश सुवेदीबाट समीक्षात्मक टिप्पणी भएको छ ।
६४ पृष्ठमा सजिएको पुस्तक आकार छरितो र आकर्ष लाग्छ । मूल्य रु. १०१।- सामान्य पाठकको पहुँचभन्दा माथि भयो कि ? भन्ने लाग्छ । अन्त्यमा उदीयमान सर्जक सप्रेम अर्चनाको नवीन विधा सपना कहाँ छुन सक्छु र ! रचना सृष्टिको लागि हार्दिक बधाई तथा सप्रेम शुभकामना !
- प्रस्तुति : नानीबाबु दाहाल

Saturday, November 1, 2008

जव जव नियतिले केही दियो

जव जव नियतिले केही दियो
जानी नजानी मलाई आँशु नै दियो

माया मार्नु तिम्रो बाध्यता
आँशु झार्नु मेरो विवशता
हामी दुईले गर्न सक्ने अरू के नै दियो
जव जव नियतिले केही दियो
जानी नजानी मलाई आँशु नै दियो

दबाएर मनको चाहना
गर्यौँ समयको सामना
आउला एकदिन सुख भन्दै
मनमनै गरेर कामना

सङ्घर्षमा जल्दा जल्दै निभ्यो आशाको दीयो
हामी दुईले गर्न सक्ने अरू के नै थियो
जव जव नियतिले केही दियो
जानी नजानी मलाई आँशु नै दियो

रङ्ग यात्रा २०६५


यात्रा अनेक प्रकारको हुन्छ। कुनै न कुनै उद्देश्य बोकेको यात्राले केही न केही ज्ञान त दिलाउँछ नै साथमा मनोरञ्जन पनि प्रदान गर्छ। जिन्दगीमा अतीतका पानालाई रङ्गीन बनाउन यात्राका मीठ पलहरू अत्यन्त महत्वपूर्ण हुन्छन्। मीठो सझनाको रुपमा हृदयमा घुमिरहने ती दृष्यहरू मनोरम र अकल्पनीय हुन्छन्। यस्तै यात्राहरू मध्ये विशेष रङ्गयात्रा २०६५ मेरोलागि अत्यन्त लाभदायक यात्रा रह्यो।
सधैँको व्यस्ततालाई पन्छाएर २०६५-­३-­६ शुक्रबार सुरु गरिएको रङ्गयात्रामा विशेष अतिथिको रुपमा प्र डा डिपि भण्डारी रहनुभएको थियो भने विशिष्ट साहित्यकार मञ्जुल लगायत साहित्यानुरागी र सञ्चारकर्मी सहभागी हुनुन्थ्यो। तेइसजना सम्मिलित यो साहित्यिक यात्रा आन्तरिक पर्यटन प्रवर्धनका निमित्त रङ्ग नेपाल, इमरी ट्राभल्स र नेपाल टुरिजम बोर्डको सहकार्यमा आयोजना गरिएको थियो।
शब्दशील्पिहरूसँगको यात्रा निकै लाभदायक हुँदोरहेछ। यात्राको आरम्भमा नै कवि मञ्जुलले गीत गाएर सबैलाई उत्साहित बनाउनु भयो। सबै सहभागीका गीत, गजल, कविता, चुट्किला बारम्बार प्रस्तुत भइरहन्थे। यात्राको मजा छुट्टै अनि सहयात्रीका प्रस्तुतिको मजा छुट्टै। एकै पटक धेरै कुराको आनन्द लिन पाइयो रङ्ग यात्रामा। रङ्ग यात्रा सझिँदा आजसम्म पनि मनमा उमङ्ग छाउँछ।
तीन दिनको यात्रामा हामीले चितवनको सौराहा, तनहुँको बन्दीपुर र कास्कीको पोखराको सैर गर्यौँ। छोटो समयमा गरिएको धेरै ठाउँको यात्रा अपूरो हुने रहेछ। तर, यात्रा पूरा त कति समयमा पो हुन सक्ला र! त्यसैले यात्रा हामीले सक्ने जति सफल बनाउन हामी निरन्तर गुडिरह्यौँ, हिँडिरह्यौँ अनि रमाइरह्यौँ। डिपिसरका ज्ञानमूलक वक्तव्यले हामीलाई उत्साहित बनायो भने मञ्जुलदाइका कविता, श्रीओम श्रेष्ठ रोदनको लघुकथा, रोशन थापा निरवको कविता निकै रमाइला लागे। छन्दमा गाइएका भूषिताका कविताले सबैको मन प्रफुल्लित पार्यो। गायक दिवा राईले गाएको डद्दज्ञज्ञ 'बैगुनी छ्यौ भनूँ भने' भन्ने गीत हामी सबैले गुनगुनायौँ।
अभिशेषले भने बसमै कसैले नगरेको ट्याङ्गो नाच देखाए। डा शशीले कविता सुनाए भने बुद्धि स्याङ्देनले ओमर खैयामका रुवाइहरू प्रस्तुत गरे। पृथक प्रतिभा बोकेका रङ्गयात्रीहरू आफ्नो हातमा माइक आउने समय पर्खिरहन्थे। श्रृष्टि श्रेष्ठ कहिले कविता त कहिले गीत गाइन्। प्रिक्षा खकुरेलले आफैँले लेखेको गीत गाएर सुनाइन्। अशोक प्यासी राईले आफ्नै एलबमको गीत सुनाए। प्राय मौन रहने स्वर्णिमाले पनि माहौल अनुसार कविता सुनाइन्। कार्यक्रमका संयोजक सबैका निर्मल थापा बारेमा बोल्थे र बेलाबखत कविता सुनाउँथे। तीन दिने यात्रालाई सफल पार्न उनले गरेको मिहिनेत प्रसंसायोग्य छ। विभोर बरालले कहिले गीत त कहिले गजल प्रस्तुत गरे। सुरज पोखरेलका चुट्िकला सबैले रमाइको मानेर सुने।
यस्तै सुन्दै सुनाउँदै तीन दिनको यात्रा रङ्गीन बनाउँदै हामी सौराहा, बन्दीपुर र पोखरा घुमेर २०६५­३­८ आइतबार काठमाडौँ फर्कियौँ। ती दिनहरू सझेर मन अरुैसम्म पुलकित हुन्छ।
मनोरञ्ज्ान मात्र नभई आन्तरिक पर्यटन प्रवर्धनको उद्देश्य समेत बोकेका कारण रङ्गयात्रा २०६५ निकै प्रभावकारी बन्यो। वर्षै पिछे यस्ता रङ्गीन यात्राहरू जारी रहुन्, मेरो शुभकामना र अविस्मरणीय यात्राको अवसर प्रदान गरेकोमा रङ्गनेपाल र रङ्गयात्रीलाई धेरै धन्यवाद।

Friday, October 31, 2008

मेरो पवित्र आत्मा

स्पष्ट देख्थे मेरा आँखाले
दन्दन् दन्किएको आगो
चेतना ज्यूँदै थियो
यति जानेको थिएँ कि जलिन्छ त्यहाँ
तरपनि हिम्मत गरेँ
र हाम्फालेँ आगोमा

म गलत रहेछु भने
खरानी बनोस् मेरो हरेक पाप
ज्यूँदै जलिरहूँ हरपल
तर यदि उल्टो हो भने
झन्झन दन्कियोस् आगो
आनि ,
आगोलाई पनि शीतलता मिलोस्
मेरो पवित्र आत्मा देख्दा ।