Saturday, June 29, 2013

गजल


कहाँदेखि बग्छौ कहाँसम्म पुग्छौ !
नपाएर थाहा स्वयम् भित्र सुक्छौ !

तिमीमा छ तिर्खा तिमीमै छ पानी
दुई हात थाप्दै बिनाकाम झुक्छौ !

सबै जान्न सक्ने छ खूबी तिमीमा
अहोभाग्य आफ्नै नजानेर चुक्छौ !

अँध्यारो लखेट्ने छ गन्तब्य तिम्रो
छिटो बाल दीयो कतिन्जेल रूक्छौ !

Thursday, June 27, 2013

गजल


यस्तो कठोर यात्रा एक्लै कटाउँदैछु ।                             
सम्झेर साथ तिम्रो हिम्मत बढाउँदैछु ।

 आकाशमाथि हेर्दा ताराहरू नियाल्दा                               
 बुझ्नू तिमी इशारा माया पठाउँदैछु ।

गन्तव्यसम्म पुग्ने बाटो सफा गरेर                                  
तिम्रा अगाडि पर्ने काँडा हटाउँदैछु ।

पाएँ सप्रेम निम्तो  स्वागत गरेर बस्नू                             
छिट्टै हुनेछ संगम दूरी घटाउँदैछु ।

मेरो निमण्त्रणामा आयौ विभोर बन्दै                                
सौगात के चढाऊँ आत्मा चढाउँदैछु ।