Friday, October 31, 2008

मेरो पवित्र आत्मा

स्पष्ट देख्थे मेरा आँखाले
दन्दन् दन्किएको आगो
चेतना ज्यूँदै थियो
यति जानेको थिएँ कि जलिन्छ त्यहाँ
तरपनि हिम्मत गरेँ
र हाम्फालेँ आगोमा

म गलत रहेछु भने
खरानी बनोस् मेरो हरेक पाप
ज्यूँदै जलिरहूँ हरपल
तर यदि उल्टो हो भने
झन्झन दन्कियोस् आगो
आनि ,
आगोलाई पनि शीतलता मिलोस्
मेरो पवित्र आत्मा देख्दा ।

बहाना नबनाऊ

बहाना नबनाऊ मबाट तिमी टाढिन
स्वतन्त्र छौ तिमी आफैँमा
साँचो मायामा बन्धन हुँदैन
विश्वास हुन्छ एक अर्कामा

यो विश्वास तोडेर जान चाहन्छौ
पाइला रोकेर नजाऊ भन्दिन
जाँदैछौ तिमी मलाई एक्लै छोडेर
सफलता मिलोस् तिम्रो जीवनमा

यो नासो छोडी तिमी जान चाहन्छौ
आँशुले छोपी नजाऊ भन्दिन
यो नासो आफ्नो बनाउँछु
झुठो मायाको प्राप्ति चाहन्न

लाग्छ आज यस्तो, ढल्दैछ सास यो

लाग्छ आज यस्तो, ढल्दैछ सास यो
लासभित्र यौटा चल्दैछ सास यो

हैन के छ हाम्रो संसारमा व्यथा ?
व्यर्थ-व्यर्थ मेरो गल्दैछ सास यो

जिन्दगी बिहानै कालो छ रात झैँ
आजभोलि साह्रै छल्दैछ सास यो

वेदना असाध्यै छाती दुखाउँछ
दु:खको चितामा जल्दैछ सास यो

संघर्ष जिन्दगीको खारिन्छ एकचोटी

संघर्ष जिन्दगीको खारिन्छ एकचोटी
यो जिन्दगी सुनौलो पारिन्छ एकचोटी

नौलो बहार डाक्ने आशा फुलाउने त्यो
यौटा नयाँ विरूवा सारिन्छ एकचोटी

माया दिएर कोही चाहन्छ जित्न युद्ध
साँच्चै विभोर बन्दै हारिन्छ एकचोटी

लड्छौं मिलेर हामी अन्यायको विरुद्ध
कालो परम्परा यो मारिन्छ एकचोटी

सजिरा'छ कतै दरबार अझै

सजिरा'छ कतै दरबार अझै
डुबिरा'छ कतै घरबार अझै

जमिरा'छ कतै मन चिन्तनमा
उठिरा'छ कतै तरबार अझै

चुपचाप बसे भगवान तर
डुलिरा'छ कतै अवतार अझै

किन स्वागत भो परिवर्तनको
मन माथि रह्यो गजबार अझै

जनता लुटिए नहुँदा नियम
चलिरा'छ कतै सरकार अझै