Wednesday, September 9, 2009

गुलजार गजलसन्ध्या

(नयाँ पत्रिका, २०६६ भाद्र १५ गते सोमबार, http://www.nayapatrika.com/newsportal/last_page/5484.html)
डान्स र दोहोरीमा मस्त राजधानीका साँझ पछिल्ला दिनमा गजलतिर पनि तानिँदै छन् । पछिल्लो समय बढ्दो गजल-लेखनसँगै गाउने, सुनाउने र सांगीतिक प्रस्तुतिमा झुम्ने क्रम पनि बढ्दो छ । छिटफुट गजलका एल्बम निस्कँदै छन् र तिनले बिस्तारै व्यावसायिक सफलताका सिँढी पनि उक्लँदै छन् । हिन्दी र उर्दू गजलका पारखीका दिल बिस्तारै नेपाली गजलले पनि जित्दै छन् । यही सिलसिलामा शनिबारको एक साँझ गजलले गुलजार बन्यो । कार्यक्रममा गजल पुस्तक र एल्बम विमोचन मात्र गरिएनन्, फर्माइस गरी-गरी गजल गाइए, सुनाइए ।
अवसर जुटाएको थियो उपलब्धि प्रकाशन सेवा प्रालि र तन्नेरी डटकम मासिकले । नवस्थापित उपलब्धि प्रकाशन सेवाको उद्घाटनका अवसरमा आयोजित 'गजल-सन्ध्या'मा रमेश पोख्रेल र सञ्जय तुम्रुकले गजल गाए । 'गजलगो'लाई जीवन राईले तबलामा, सन्जु शाहीले गीतारमा साथ दिए । तीन सयभन्दा बढी गजलप्रेमी लगातार तीन घन्टा झुमे नेपाली र हिन्दी गजलगायनको आनन्दमा ।
रसिक साहित्यकार डिपी भण्डारी, गीतकार रत्नशमशेर थापा र राजेन्द्र थापाले त फर्माइस गरी-गरी आधा दर्जन बढी हिन्दी तथा उर्दू गजलको पनि आस्वादन लिए ।
रमेश र सञ्जयले विभोर बराल, सप्रेम अर्चना, जनक पौड्याल र विपिन मिश्रजस्ता नवोदित गजलकारका सिर्जनामा स्वर दिँदै गजलकार ललिजन रावल, रवि प्राञ्जल, देवी नेपाल, शैलेन्द्र साकार, रमेश पौडेल, गण्डकीपुत्रलगायत स्रष्टाका धीत मारे ।
गैरीधारास्थित उपलब्धि प्रकाशन सेवाकै हलमा आयोजित कार्यक्रममा विभोर बरालको 'उड्दै गए सपनाहरू' गजल-संग्रह र सप्रेम अर्चनाको 'सपना कहाँ छुन सक्छु र' गजल-संग्रहको विमोचन गरियो । कार्यक्रममा विभोर र अर्चनाका प्रत्यक्ष गाइएका गजलहरूको डिभिडी 'हाम्रो सपना' को पनि घुम्टो खोलियो । जसमा मिलन सिंह, रमेश पोख्रेल, निर्मल 'म', मदन गोपाल, सञ्जय तुम्रुक र मनीषा पोख्रेलका स्वरबद्ध गजल समावेश छन् ।

No comments:

Post a Comment